किन बिकेन एप्पलको कम्प्युटर ?

Apple-Computer
अमेरिकाको न्युयोर्कमा भएको भिन्टेज टेक सेलमा हालै केही ऐतिहासिक प्राविधिक सामाग्रीहरु लिलामीमा राखिए । जसमा एप्पलको सुरुवाती कम्प्युटर एप्पल वानको मदरबोर्ड, ७९ वर्ष पूरानो टेलिभिजन तथा सेमुर क्रेले डिजाइन गरेको सबैभन्दा पछिल्लो र एकमात्र सुपरकम्प्युटरको प्रोसेसर आदि लिलामीमा राखिएका थिए । तर न त एप्पल वान कम्प्युटर बिक्रि भयो, न त पुरातात्विक टेलिभिजन नै ।

एप्पल वान कम्प्युटर प्रायः मूल्यवान सामाग्री बन्ने गरेका छन् । सन् १९७६ मा एप्पलले पहिलो लटमा उत्पादन गरेका एप्पल वान कम्प्युटर अब केवल ५० वटा मात्र विश्वमा बाँकी छन् । गएको वर्ष भएको लिलामीमा एप्पल वान कम्प्युटर ३ लाख ६५ हजार डलरमा बिक्रि भएको थियो भने सन् २०१३ मा एप्पल वानलाई ९ लाख ५ हजार डलर परेको थियो ।
सोमबारको लिलामीमा एप्पल वानको सुरुवाती मूल्य ३ लाख डलर तोकिएको थियो । तर कसैले पनि त्यति मूल्यमा किन्न तयार भएनन् । उता क्रे फोर प्रोसेसर भने ३७ हजार ५ सय डलरमा बिक्रि भयो ।
Computerसन् १९३६ मा निर्माण भएको पुरातात्विक बेइर्ड टेलिभिजन चालु हालतमा त छैन तर यो अवश्यपनि संग्रहणीय भने छ । यसले ५ सय भोल्टको करेन्ट प्रवाह गर्दछ । यो टेलिभिजन २० हजार देखि ३० हजार डलर सम्ममा बिक्रि हुने अनुमान गरिएको थियो, तर कसैले पनि यसतर्फ आँखा लगाएन ।

विश्वको पहिलो व्यवसायिक सुपरकम्प्युटरका डिजाइनर सेमुर क्रे । सन् १९९५ मा कम्पनी टाट उल्टिने बेलामा उनले क्रे फोर मोडेलको डिजाइन गरिरहेका थिए । अर्को वर्ष उनको गाडी दुर्घटनामा ज्यान गयो । त्यसैले उनको क्रे फोर मोडेलको सुपर कम्प्युटर प्रोसेसर कुनै कम्प्युटरमा प्रयोग हुन पाएन । ००१ सिरियल नम्बर सहितको उक्त प्रोसेसर ५० हजार देखि ८० हजार डलर सम्ममा बिक्रि हुने अपेक्षा गरिएको थियो । तर निकै कम मात्र मूल्य पर्यो ।


लिलामीमा राखिएका अन्य ऐतिहासिक वस्तुहरुमा जर्मन इनिग्मा मेसिनको सुरुवाती संस्करण, अल्बर्ट आइन्स्टाइनले हस्तलिखित कागज, अमेरिकी गृहयुद्धका बेला सुराकीहरुले टेलिग्राफ पठाउन र पाउन प्रयोग गरेका उपकरण लगायतका रहेका छन् ।