इन्टरनेट दैनिक जिवनको अभिन्न अंग बन्दै गएको छ । संचार, सूचनाको खोजी तथा वित्तिय कारोबार लगायतका काममा समेत इन्टनेटको प्रयोग बढ्दै गएको छ ।
विज्ञान आफैमा वरदान भएपनि यसको गलत प्रयोग तथा असावधानीले कहिलेकाहीँ यसलाई अभिषापमा परिणत गरिदिन्छ भनेझैँ इन्टरनेटको प्रयोगमा समेत सावधानी नअपनाउने हो भने कहिलेकाहीँ यसले ठूलो क्षति पूराउन सक्छ ।
इन्टरनेट मार्फत वित्तिय कारोबार समेत हुने भएकाले यसप्रति धेरैका आँखा लाग्छन् र ह्याकरहरु इन्टरनेट प्रयोगकर्ताको अकाउण्ट ह्याक गरेर त्यसबाट वित्तिय तथा अन्य खाले फाइदा लुट्नका लागि हरदम प्रयत्न गरिरहेका हुन्छन् । त्यसैले आफ्नो इन्टरनेटका विभिन्न अकाउण्टहरुलाई ह्याकरबाट सुरक्षित राख्नु जरुरी हुन्छ । यसका लागि निम्नानुसारका उपायहरु अबलम्बन गर्न सकिन्छः
१· इन्टरनेट प्रयोगकर्ताले व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि इमेलको प्रयोग गर्दछन् । यो संचारको निकै सरल तथा द्रुत विधि हो । तर ह्याकरहरुले इमेललाई विभिन्न सूचना चोरी तथा ह्याक गर्ने कार्यका लागि दुरुपयोग गरिरहेका हुन्छन् । विभिन्न खालका नक्कली तथा लोभ्याउने खालका इमेलहरु पठाएर ठग्न सक्छन् । यस्ता नक्कली ठगी इमेलहरुमा चिट्ठा जितेको, लाखौँ पुरस्कार पाएको तथा कसैले पैसा दान गर्न लागेको भन्ने जस्ता इमेलहरु रहन्छन् । यसबाट सम्बन्धित मानिसको बैंक अकाउण्ट लगायतका महत्वपूर्ण वित्तिय जानकारीहरु लिने र सोही मार्फत थप जानकारी प्राप्त गरी अकाउण्ट ह्याक गर्न सक्छन् । त्यसैले नचिनेका मानिसहरुबाट आउने यस्ता फाल्तु इमेलहरु डिलिट गरिहाल्नुपर्छ, त्यसमा भने अनुसार गर्नतिर लाग्नु हुँदैन । कतिपय इमेलहरुमा त अट्याचमेन्ट मार्फत भाइरस समेत पठाइएको हुन्छ । त्यस्ता अट्याचमेन्ट फाइलहरु खोल्दा कम्प्युटरलाई भाइरसले आक्रमण गर्छ र अकाउण्ट ह्याक पनि हुनसक्छ ।
२· विश्वमा करोडौँको संख्यामा वेबसाइटहरु सिर्जना गरिएका छन् । कतिपय वेबसाइटहरु सक्कली हुन्छन् भने कतिपय वेबसाइटहरु सक्कली वेबसाइटको नाम राखेर ठगीको प्रयोजनका लागि खोलिएका नक्कली वेबसाइटहरु हुन्छन् । यस्ता नक्कली वेबसाइट तथा स्मार्टफोन र ट्याब्लेट एप्सहरुबाट पनि ह्याकरहरुले इन्टरनेट प्रयोगकर्तालाई सिकार बनाउने गर्छन् । धेरै घटनाहरुमा ह्याकरहरुले कुनै बैंकको नक्कली वेबसाइट सिर्जना गरेर उक्त बैंकका प्रयोगकर्तालार्य झुक्याउने गरेको पाइएको छ । यस्ता नक्कली वेबसाइटमार्फत बैंक प्रयोगकर्तालाई उनीहरुको अनलाइन अकाउण्टमा लगइन गर्न लगाउने र त्यसबाट युजरनेम तथा पासवर्ड कब्जा गरेर अकाउण्ट ह्याक गरी बैंक अकाउण्टमा रहेको पैसा छिनभरमा रित्याइदिन सक्छन् । त्यसैले कुनै वेबसाइट आफुले प्रयोग गर्ने गरेको बैंकको सक्कली वेबसाइट हो की होइन भनेर ठम्याउनुपर्छ यसका लागि ब्राउजरको एड्रेस बारमा हेर्नुपर्छ । वेबसाइटको नाम अगाडि एचटीपिपिएस रहेको वेबसाइट बैंकको सक्कली वेबसाइट हुन्छ, किनकी यसले कुनै साइटले सुरक्षा प्रमाणपत्र प्रयोग गरेको प्रमाणित हुन्छ । त्यस्तै एप्सको सन्दर्भमा एप डेभलपरको नाम चेक गर्नुहोस् । एप स्टोरमा प्रायः कुनैपनि एपको तलपटि्ट यसको नाम उल्लेखभएको हुन्छ । त्यस्तै कुनै बैंकिंग एपलाई इन्स्टल गर्नुअघि त्यसको बारेमा पर्याप्त रिभ्यु अध्ययन गर्नुहोस् र आधिकारिक भएमा मात्र इन्स्टल गर्नुहोस् । अफिसियल एप स्टोरबाट मात्र बैंकिंग एप डाउनलोड गर्नुपर्छ ।
३· अनलाइनमार्फत कारोबार गर्दा वा कुनै सामान खरीद गर्दा वस्तुको विज्ञापनको भुलभुलैयामा पर्नु हुँदैन । कुनैपनि वस्तुको विज्ञापनमा त्यसको मूल्य सामान्य मूल्यभन्दा निकै नै कम उल्लेख भएको छ भने बुझ्नुहोस् त्यसले तपाइँलाई सरासर ठग्दैछ । उत्पादक तथा बिक्रेताले अनलाइनमार्फत छुट दिनसक्छ, तर ८०, ९० प्रतिशत छुट भन्यो भने त्यसले रातो झण्डा देखायो भनेर बुझ्नुस् । अझ यतिधेरै छुटमा सामान किन्नका लागि अगि्रम भुक्तानी दिनुपर्ने भन्ने शर्त राख्यो भने त पक्का हुनुस् की तपाइँलाई ठग्दैछ । यदि ठग्ने होइन र सामान दिने नै हो भनेपनि त्यस्तो सामान चोरीको वा अवैध रुपमा खरीद गरिएको हुनसक्छ । अनलाइनमा सक्कली तथा वास्तविक सामान भेट्टाउनुभयो भने पनि खरीद गर्दा बिक्रेताको आइडी प्रुफ लिन नभुल्नुहोस् ।
४· कि लगर भन्ने यस्तो सफ्टवेयर हो जसले तपाइँले किबोर्डमा थिच्ने हरेक बटनको रेकर्ड राख्दछ । त्यसैले ठग तथा ह्याकरले यहीँ सफ्टवेयरको माध्यमबाट तपाइँको अकाउण्टको पासवर्ड थाहा पाउन सक्छ र ह्याक गर्न सक्छ । ह्याकरहरुले साइबर क्याफेहरुका कम्प्युटरमा गोप्यरुपमा यो सफ्टवेयर डाउनलोड गर्ने र साइबर क्याफेका प्रयोगकर्ताका अकाउण्ट ह्याक गर्ने गरेको पाइएको छ । त्यसैले साइबर क्याफेको कम्प्युटर प्रयोग गर्दा त्यसमा कि लगर सफ्टवेयर छ छैन ? जाँच गर्नुहोस् र सकेसम्म धेरैले प्रयोग गर्ने त्यस्ता सार्वजनिक कम्प्युटरबाट आफ्ना गोप्य अकाउण्टहरु नखोल्नुहोस् ।
५· आफ्नो फोनमा क्रेडिट कार्डको विवरण नराख्नुहोस् । धेरै बैंकहरुले आफ्ना प्रयोगकर्तालाई यस बारेमा सचेत पनि गराएका हुन्छन् । त्यस्तै कसैले आफु बैंकको प्रतिनिधि भन्दै तपाइँलाई फोनबाट तपाइँको क्रेडिट कार्डको विवरण सोध्यो भने पनि त्यसको जवाफ नदिनुस् । किनकी कुनैपनि बैंकले क्रेडिट कार्ड वा डेबिट कार्डको विवरण आफ्ना ग्राहकसँग फोनमार्फत सोध्दैन । त्यसरी सोध्ने व्यक्ति ठग वा ह्याकर हुनसक्छ ।