मेस्सीको गोलसँगै बार्सिलोना विजयी

Messi२७ भदौ, काठमाडौं । हालै मात्र दोस्रो सन्तानका बाबु बनेका लिओनल मेस्सीले एथ्लेटिको मड्रिडविरुद्ध विजयी गोल गर्दै खुसी मनाएका छन् ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको छ । र, लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मेस्सीले ला लिगाको सुरुवाती दुई खेलमा गोल गरेका थिएनन् र शुक्रबारको ट्रेनिङ पनि गुमाएकाले बेन्चमा बसे ।
पहिलो हाफ गोलरहित बराबरी रह्यो । दोस्रो हाफको ५१ औं मिनेटमा टोरेसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई सुरुवाति अग्रता दिलाए ।
तर, त्यो धेरैबेर टिकेन । ५५ औं मिनेटमा नेयमारले फ्रि किकमार्फत बराबरी गोल फर्काए ।
६० औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मेस्सी मैदान प्रवेश गरे । उनले ७७ औं मिनेटमा लुइस स्वरेजको पासमा विजयी गोल गरे ।
यो ला लिगामा मेस्सीको २८७ औं गोल हो । जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको ७ अंक छ ।