चिनियाँ राजदूतले भने- नेपाललाई जस्तोसुकै सहयोग गर्न चीन तयार छ


उत्तरी नाका खोल्नेबारे प्रचण्ड र चिनियाँ राजदूतवीच छलफल

२०७२ असोज ११ गते १६:२० मा प्रकाशित
Prachanda-and-Wu-Chuntai११ असोज, काठमाडौं । भारतको अघोषित नाकाबन्दीका कारण नेपालमा परेको समस्याबारे एमाओवादी अध्यक्ष प्रचण्डले चिनियाँ राजदूत उ चुन्ताईसँग सोमबार छलफल गरेका छन् ।
लाजिम्पाटस्थित निवासमै बोलाएर प्रचण्डले नेपालसँग जोडिएका चिनियाँ नाका खुलाउन राजदूत उलाई आग्रह गरेका थिए ।

|
प्रचण्डको सचिवालयका अनुसार भेटवार्ता भारतको असहयोग र चिनियाँ नाका खुलाउने उपायमै केन्द्रित थियो । सरकारको तर्फबाट समस्या समाधानको स्पष्ट योजना र पहल नभैरहेका बेला पूर्वप्रधानमन्त्री प्रचण्डले सक्रियता बढाएका हुन् ।
‘भारतले के गरिरहेको छ भन्ने कुरा तपाईंलाई जानकारी नै छ, समस्या समाधानको कुटनीतिक प्रयास पनि जारी छ,’ राजदूत चुन्ताईसँग भएको भेटमा प्रचण्डको भनाइ उदृत गर्दै लाजिम्पाट स्रोतले भन्यो, ‘अब चिनियाँ नाका छिटो खुलाउनुपर्‍यो । तपाईंबाट विशेष पहल होस् ।’
प्रचण्डले भारतको अघोषित नाकाबन्दीका कारण समस्या परेको भन्दै तातोपानी, रसुवागढी लगायतका नाकाहरु तत्काल खोल्ने पहल गर्न भनेका थिए । चाडबाड नजिकिँदै गएकाले जतिसक्दो छिटो चिनियाँ नाका खुलाउनुपर्ने प्रचण्डको जोड थियो ।
राजदूत चुन्ताईले पनि नेपाललाई जस्तोसुकै सहयोग गर्न चीन सदैव तयार रहेको भन्दै नाकाहरु तत्काल खुलाउन आफूले पहल गर्ने बताएका थिए ।
गत बैशाखमा आएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण पहिरो खस्दा तातोपानी, रसुवागढी लगायतका नाका अबरुद्ध छन् ।
चिनियाँ राजदूतसँग छलफल गरेपछि प्रचण्ड प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।