नक्कली इमेलबाट ठगिँदै नेपाली व्यापारी

gmail२३ भदौ, काठमाडौं । चीनबाट नियमित रूपमा सामान आयात गर्दै आएका एक नेपाली व्यवसायीले करिब दुई महिनाअघि १३ लाख रुपैयाँ पठाउनुपर्ने थियो । तर, चिनियाँ साझेदारले एक्कासि नियमित बैंक खाता नभई अर्कोमा पैसा पठाउन भन्दै इमेल पठाए ।
रोमानियामा आफ्नो हिसाबकिताब मिलाउनुपर्ने भन्दै रोमानियाकै बैंकमा पैसा पठाउन आग्रह भएपछि ती व्यवसायीले सोहीअनुसार १३ लाख रुपैयाँ पठाइदिए । त्यसको केही दिनपछि ती व्यवसायी अचम्ममा परे, जब आफ्ना चिनियाँ साझेदारले सोही सामानको भुक्तानीका लागि आग्रह गरे । नेपाली व्यवसायीले पैसा पठाइसकेका थिए, तर चिनियाँ पक्षले पाएको थिएन ।

रोमानियामा आफूले पैसा पठाउन इमेल नलेखेको चिनियाँ व्यापारीले बताएपछि थाहा भयो, अरू कसैले ह्याक गरेर त्यसरी अर्को बैंक खातामा पैसा पठाउन लगाएका थिए । उस्तै इमेलबाट त्यस्तै आग्रह आएकाले नेपाली व्यवसायी झुक्किएका थिए । ‘इमेल ठेगानामा अलिकति तलमाथि गरेर नयाँ इमेल आइडी बनाएर यसरी ठगी भएको रहेछ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताएको नयाँ पत्रिकामा खबर छ ।
ती प्रहरी अधिकारीका अनुसार इमेल ह्याक गरी दुई पक्षबीचको कारोबारको जानकारी लिएपछि अन्तर्राष्ट्रिय ठगहरूले यसरी उस्तै किसिमको इमेल आइडी बनाई अर्को खातामा पैसा पठाउन लगाएर ठगी गरेका थिए ।
नयाँ साइबर क्राइम
इमेल ह्याक गरेर कारोबार निगरानी राखी उस्तै इमेल बनाएर ठगी गर्ने नयाँ साइबर क्राइम बढेको प्रहरीको भनाइ छ । इमेल ठेगानामा अलिकति तलमाथि गरेर नयाँ इमेल आइडी बनाएर नेपाली व्यापारीबाट विदेशीहरूले भुक्तानी लिएर ठगी गरेका उजुरी प्रहरीमा परेका छन्।
सजग हुन प्रहरीको आग्रह
महानगरीय अपराध महाशाखास्थित साइबर क्राइम सेलका इन्स्पेक्टर पशुपति राय भन्छन्– विदेशमै बसेर विदेशीले नेपालीलाई ठग्न थालेका छन् । इन्टरनेटमार्फत हुने कारोबारमा व्यवसायीहरू सजग हुनु जरुरी छ ।